मुस्ताङका बगैँचामा फलेका स्याउ

म्याग्दी । गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन् । अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताए । ‘क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ,’ उनले भने ‘क्रप कटिङको प्रतिवेदन तयार भएपछि उत्पादनको यकिन विवरण आउँछ ।’

जेठमा दानामा दाग लाग्ने रोगलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका कृषि शाखाका प्राविधिक टोलीले उपचार गरेपछि उत्पादनमा असर नभएको कृषि प्रसार अधिकृत मगरले बताए । फलेका स्याउका दानाले बगैँचा आकर्षक देखिन्छन् । घरपझोङ गाउँपालिका–३ स्याङका कृषक कर्म गुरुङले गत वर्षको तुलनामा यसपटक स्याउका बोटमा २० देखि २५ प्रतिशत बढी फल लागेको बताए ।

‘मौसमले पनि साथ दियो, रोग पनि लागेन,’ उनले भने ‘गत वर्ष रु. चार करोडको स्याउ बेचेको हुँ, यो वर्ष रु. छ करोड आम्दानी हुने अनुमान छ ।’ स्याउ खरिद गर्न देशका विभिन्न स्थानबाट व्यापारी मुस्ताङ पुगेर बगैँचा अवलोकन र किसानसँग भाउ मिलाउन थालेका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *