काठमाडौं । विगत एक महिनादेखि बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलन सोमबार उत्कर्षमा पुगेको छ। आन्दोलनरत विद्यार्थी एवं युवा जमातको क्रोधले प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासन सत्ता समाप्त पारिदिएको हो। ७६ वर्षीया हसिनाले सन् २००९ देखि बंगलादेशमा शासन सुरु गरेकी हुन्। १७ करोड बढी जनसंख्या रहेको यो दक्षिण एसियाली मुलुकमा उनको राजीनामाको माग गर्दै भएको विरोध प्रदर्शनले अकल्पनीय रूप लिएको छ। त्यहाँको सर्वोच्च अदालतले जागिरको कोटा खारेज गरे पनि गत महिनादेखि सुरु विरोध प्रदर्शन रोकिएन। उक्त आन्दोलन विस्तारै सरकार विरोधीमा परिणत भयो। विश्वविद्यालय र कलेजका विद्यार्थीको प्रदर्शनले देशभर व्यापक असन्तुष्टि, रक्तपात र अराजकता निम्त्यायो। बंगलादेश सरकारले प्रदर्शन रोक्न खोज्यो तर जनतापछि हटेनन्। यही कारण प्रधानमन्त्री हसिना सोमबार सत्ताबाट बाहिरिन मात्र नभई देशै छाड्न बाध्य भइन्। उनी बहिनी शेख रेहानालाई लिएर भारतको अगरतला गएको बताइन्छ।
Leave a Reply