बेनी । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरु ओझेलमा परेका हुन् ।
पदमार्गका प्रमुख आकर्षणको रूपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको अभावमा ओझेलमा परेको चिमखोलाका स्थानीय युवा ओम पुनले बताए ।
‘हिमालको फेदीदेखि पहाडका टाकुराहरुमा मनमोहक ताल छन्, तर आधार शिविर हुँदै यी तालमा पुग्न व्यवस्थित पदमार्ग निर्माणले पूर्णता पाएको छैन’, पुनले भने । धौलागिरि आइसफल आधार शिविरमा मनमोहक निली बराह ताल छ ।
धौलागिरिको फेदीमा रहेको यो तालले पर्यटक लोभ्याउने गरेको छ । यस तालको पानीको रङ्ग निलो छ । जमिनमाथि रहेको यो तालमा पानीको स्रोत नदेखिए पनि ताल कहिल्यै नसुक्ने विशेषता रहेको चिमखोलाका अगुवा गमबहादुर पुनले जानकारी दिए ।
धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ । वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित छ । अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ ।
आधार शिविर र चिमखोलाको कालीबराह खोलाको दोभानबाट एक दिनको पदयात्रामा पुग्न सकिने कालीबराहमा मुस्ताङको लेतेबाट परम्परागत गोठ र भोट जाने पदमार्ग जोडिएको छ । कालीबराहमा जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने गर्छ ।
यहाँ भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यहाँ ताल परिसरमा बराह थानसमेत छ । कालीबराह नजिकै पहाडको टाकुरामा रहेको पहेँली बराह ताल समुद्री सतहदेखि चार हजार सात मिटर उचाइमा छ । हिउँदयाममा चिसोले जम्ने यो ताल पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ । यस पदमार्गमा निली बराह, कालीबराह, पहेँलीबराह तालसँगै लाटीबराह, सेतीबराह र मनिबराह तालसमेत पदमार्गमा पर्ने स्थानीय कृष्ण पाईजाले जानकारी दिए ।
Leave a Reply